नियम ५क
इजाजतपत्र रद्दसम्बन्धी व्यवस्था
(१) कुनै इजाजतपत्रवालाले अन्तशुल्क लाग्ने वस्तु तथा सेवाको कारोवार गर्न छाडेको वा इजाजतपत्रवालाको मृत्यु भएको कारणले इजाजतपत्र रद्द गर्नुपर्ने भएमा कारोवार छाडेको हकमा इजाजतपत्रवालाले र इजाजतपत्रवालाको मृत्यु भएको हकमा निजको हकवालाले इजाजतपत्र रद्द गर्न अन्तशुल्क अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा इजाजतपत्र रद्द गर्न मनासिव देखेमा अन्तशुल्क अधिकृतले इजाजतपत्रवालासँग कुनै अन्तशुल्क रकम, जरिवाना असुल गर्न बाँकी भए सो असुल उपर गरी इजाजतपत्र रद्द गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र रद्द गरिएको जानकारी तीस दिन भित्र निवेदकलाई दिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा इजाजतपत्र रद्द गर्नु नपर्ने देखिएमा सोही बमोजिमको जानकारी तीस दिन भित्र निवेदकलाई दिनुपर्नेछ ।
(५) उपनियम (३) बमोजिम इजाजतपत्र रद्द भएको जानकारी प्राप्त नभएसम्म इजाजतपत्रवालाले मासिक रूपमा अन्तशुल्क विवरण पेश गर्नु पर्नेछ ।
(६) यस नियमबमोजिम इजाजतपत्र रद्द गरिएको जानकारी उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य सम्बन्धित निकायलाई समेत दिनु पर्नेछ ।